
काठमाडौं, साउन १४ :
मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) पुर्पक्षका लागि कारागार चलान भएका छन्। जबरजस्ती करणीको मुद्दामा बुधबार सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो। उनलाई डिल्लीबजार कारागारमा राखिने छ।
जिल्ला सरकार वकिल कार्यालय काठमाडौंले अहिराजविरुद्ध मंगलबार मुद्दा दायर गरेको थियो ।एक युवतीले आफूमाथि पटक-पटक करणी गरेको अभियोगमा अहिराजविरुद्ध किटानी जाहेरी दिएपछि उनी फरार रहँदै आएका थिए ।
ती युवतीले किटानी जाहेरीमा २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरस्थित आफ्नो कोठामै आएर अहिराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। तर अहिराजले भने ती युवतीले आफूलाई पटक-पटक ब्ल्याकमेलिङ गरेको र तीन लाख रुपैयाँ युवतीलाई दिइसकेको बयान दिएका छन्।