
नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैँक अनियमितता प्रकरणमा १०९ जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिएको छ।
तीन अर्ब २० करोड भन्दा बढी घोटाला भएको निष्कर्षसहित बुधबार पक्राउ परेका चार जनासहित १०९ जनालाई प्रतिवादी बनाएर उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको हो।
१ सय ९ जना प्रतिवादी मध्ये बैँकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय,संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष पशुपति दयाल मिश्र,बैँकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैँकका पूर्व कर्मचारी भुवन बस्नेत सहित चार जना पक्राउ परेको र अन्य १०५ जना फरार रहेका छन्।
बैँकका संस्थापक अध्यक्ष रायको नाममा दुई अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपियाँ, संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष मिश्रको नाममा ८२ करोड ४६ लाख २९ हजार, बैँकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरीको नाममा २४ करोड ६३ लाख ९९ हजार र नेपाल राष्ट्र बैँकका पूर्वकर्मचारी बस्नेतको नाममा १० लाख ८९ हजार २५० रुपियाँको बिगो कायम गरिएको उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासका सूचना अधिकारी विष्टले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरुको बयान भोलीबाट सुरु गरिने र त्यसपछि मुद्दाको कारबाही निरन्तर जारी रहनेछ।बैंक घोटाला प्रकरणमा मुद्दा दर्ता भएका मध्ये केही व्यक्तिहरू आफ्नै परिवारका नातेदार रहेको खुलेको छ ।
घोटालामा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर सिआइबीले अनुसन्धान गरेको थियो।
नेपाल राष्ट्र बैँकले २०८१ साल पुस १० गते यो बैँकलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसपछि अर्को व्यवस्था नभएसम्मका लागि बैँकको व्यवस्थापन राष्ट्र बैँकले नै लिएको छ।