
युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयमा आफूले एक वर्षमा गरेका काम र आागमी रणनीतिबारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताएका हुन् । उनका अनुसार सरकारले भक्तपुरमा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अघि बढाएको छ ।
उनले अन्तर्राष्ट्रिय भलिबल कभर्डहल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको काम भइरहेको पनि बताए । उनका अनुसार सरकारले दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बुमा हाइ-अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणकार्य अघि बढाएको छ । मन्त्री चौधरीले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि, २०८२ को मस्यौदा तयारी भएको पनि जानकारी गराए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असुल गर्न बाँकी रहेको ऋण गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड १४ लाख रुपैयाँ असुल गरेको चौधरीले जानकारी दिए ।
मन्त्री चौधरीका अनुसार गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगततर्फ ५१ करोड ८८ लाख ३५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ७४.४२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।