बेनी, साउन १७ :

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८, राम्चे काफलडाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रापालनबाट आत्मनिर्भर बनेका छन् ।

रोजगारको सिलसिलामा तीन वर्ष मलेसियामा काम गरेका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रापालन थालेका हुन् ।

‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउन थालेको थिएँ, बाख्राले जुम्ल्याह पाठा-पाठी जन्माउन थालेपछि सङ्ख्या बढ्दै गयो । पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा दुई लाखमा किनेर बाख्रापालनलाई व्यावसायिक बनाएको हुँ,’ उनले भने । उनी अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बनेका छन् ।

उनले विगत ६ वर्षदेखि बाख्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाएका हुन् । फगामीले सञ्चालन गरेको ‘सुतारे एकीकृत कृषि तथा पशुपक्षी फर्म’मा अहिले १५० वटा बाख्रा छन् । फर्ममा रहेका ४० वटा माउ बाख्रा ब्याउने अवस्थामा छन् ।

चाडपर्व र विभिन्न पूजाआजामा खसीबोका र पाठापाठीको बिक्री हुने गरेको छ । उत्पादन भएका खसीबोका गोठ र खोरबाटै बिक्री हुने गरेको फगामी बताउँछन् । उनका अनुसार बाख्रापालनबाट मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

फर्ममा फगामी दम्पतीका साथै छोरा-बुहारीले बाख्राको रेखदेख र स्याहार गर्दै आएका छन् । चरन क्षेत्रमा लैजान एक जनालाई रोजगारीसमेत दिइएको छ । हिउँदयाममा बेंसीका फाँटमा खेतबारीमा घाँस खुवाएर मल बनाउने बाख्रालाई जेठ लागेपछि भने ढरुवा, धौलापारा, साँधीखर्कलगायत लेकाली क्षेत्रका वनमा चरनका लागि लैजाने गरिएको छ । बाख्रापालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका फगामीले बाख्रापालनसँगै भेडापालन गर्ने योजनासमेत बनाएका छन् ।

बाख्रापालनलाई थप व्यावसायिक बनाउन अहिले खोरको क्षमता विस्तार गरिएको छ । आव ०८१/८२ मा अन्नपूर्ण गाउँपालिकाले पशुपक्षीका लागि गोठखोर निर्माण योजनाबाट उपलब्ध गराएको अनुदानबाट करिब तीन सय बाख्रा पालन गर्न सक्ने क्षमताको खोर बनाइएको छ ।

गाउँपालिकाबाट प्राप्त भएको एक लाख ६६ हजार रुपैयाँ अनुदानमा आफूले श्रमदान र नगद साझेदारी गरी करिब साढे तीन लाख लगानीमा व्यवस्थित खोर निर्माण गरिएको फगामीका छोरा राजु बताउँछन् ।

छोटो समयमै हुर्कने र अन्य पशुपक्षीको तुलनामा नगद आम्दानीसमेत बढी हुने भएकाले सिंगो परिवारले बाख्रापालनमा संलग्न छन् । विभिन्न समयमा बाख्रामा आउने रोगको पहिचान गरी उपचार गर्न नसक्दा धेरै क्षति व्यहोरेका फगामी परिवारले हार नखाएर बाख्रापालनलाई निरन्तरता दिएकै कारण अहिले सफलता प्राप्त गरेका हुन् ।

आलुसँगै अन्नबालीको खेती किसानीसमेत गर्दै आए पनि घरपरिवारको अन्य आम्दानीको स्रोत नहुँदासमेत बाख्रापालनबाटै भएको आम्दानीबाट परिवारले घरखर्च जुटाउँदै आएको फगामी बताउँछन् । उत्पादन भएका खसीबोका र पाठापाठीको उचित बजारको सुनिश्चित हुन सके बाख्रापालनलाई थप व्यावसायिक बनाउने फगामी परिवारको योजना छ । -रासस