
न कुनै युद्ध, न कुनै विपत्ति । पछिल्लो समय देश छाड्नेको लर्को लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँले नेपाल छाडिरहेका छन् । मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्यताले रोजगारीका लागि देश छाड्नेको संख्या ठुलो छ ।
देशमै सम्भावना नदेखेर विदेशिने क्रम बढ्दा मुलुकले ठुलो युवा श्रम शक्ति गुमाइरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार हरेक दिन विदेशी रहेको जनशक्तिमध्ये अदक्ष मात्रै छैन दक्ष जनशक्तिको संख्या पनि ठुलो छ ।
गत आव ०८१/८२ मा ८ लाख ३९ हजार २६६ जना विदेशिएका थिए । जसमध्ये ९३७ जना धेरै दक्ष नेपाली विदेशिएका छन् । त्यसमा महिलाभन्दा पुरुष धेरै छन् । धेरै दक्ष भएर विदेशीका पुरुषको संख्या ६ सय ९२ रहेको छ भने महिलाको त्यस्तो संख्या २४५ रहेको छ ।
त्यस्तै व्यावसायिक रुपमा जानेको संख्या चार हजार ३७२ रहेको छ । त्यसरी जसमध्ये पुरुष तीन हजार ७४९ पुरुष छन् भने ६२३ जना महिला छन् ।
विदेश जाने अर्धदक्ष जनशक्तिको संख्या पनि ठुलो छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार ९९ हजार ७२३ जना अर्धदक्ष नेपाली एक वर्षको बीचमा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमध्ये ९० हजारभन्दा बढी पुरुष छन् भने अरु महिला छन् ।
यस्तै सीप सिकेर विदेश जानेको संख्या पनि ठुलो छ । एक वर्षमा पाँच लाख ६ हजारभन्दा बढी युवा जनशक्ति सीप सिकेर विदेश गएको छ । जसमध्ये पुरुषको संख्या हेर्ने हो भने चार लाख ४७ हजारभन्दा बढी छ । महिलाको संख्या ५९ हजार ७५४ रहेको विभागको तथ्यांकले देखाउँछ । यस्तै सीप नसिकी विदेश जाने नेपालीको संख्या पनि ठुलो छ ।
वैदेशिक रोजगार विभागका अनुसार एकै वर्षमा २२ लाख सात हजारभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर सीप नै नसकी विदेशिएका छन् । सीप नसिकेर विदेशिने मध्ये पुरुषको संख्या ज्यादा छ । विभागको तथ्यांक अनुसार दुई लाख दुई हजारभन्दा बढी पुरुष सीप नसिकी विदेश गएको देखिन्छ । २४ हजारभन्दा बढी महिला सीपबिनै विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढेको छ ।
अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा यस्तो अनुपात १९.६३ प्रतिशत रहेकामा गत आव ०८१/८२ मा वैदेशिक रोजगारीमा गएकामध्ये २७.०९ प्रतिशत अदक्ष श्रमिक छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप सिकाएर पठाउने बताइरहँदा सीप नसिकी जानेहरुको संख्या घट्नुको साटो बढ्नु चिन्ताको विषय बनेको छ ।
विभागका अनुसार गत आव ०८१/८२ मा नेपाली वैधानिक माध्यमबाट १५१ मुलुकमा रोजगारीमा गएका छन् । यूएई, साउदी अरब, कतार, कुवेत र मलेसियामा सबैभन्दा बढी श्रमिक जाँदा १२ मुलुकमा एकजना मात्र श्रमिक गएका छन् ।
वैदेशिक रोजगार विभागसँग विदेशिनेको तथ्यांक रहने गरे पनि कति विदेश गएर उतै बसे कति फर्किए भन्ने यकिन तथ्यांक भने छैन । यो एक वर्षको अवधिमा खाडी मुलुकसहित युरोपेली मुलुकहरुमा समेत नेपालीहरु धेरै गएको विभागको तथ्यांकले देखाएको छ ।