काठमाडौं, साउन २२ :


न्याय परिषद्का सचिवसहित २७ जनालाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरिएको छ। न्याय परिषद्को सिफारिसमा परेका मध्ये १६ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी, १ जना सरकारी वकिल, १ जना कानुन अधिकृत, र ३ जना न्याय सेवा अधिकृत छन्। सूचीको अग्रस्थानमा न्याय परिषद्का सचिव यमबहादुर बुढामगर रहेका छन्।

जिल्ला न्यायाधीशहरूबाट सिफारिसमा परेकामा गोपालप्रसाद बास्तोला, गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर राना, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्धवप्रसाद भट्टराई, दीपक खनाल र अवनी मैनाली भट्टराई रहेका छन्।

त्यस्तै, उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल र कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि सिफारिसमा परेका छन्।

कानुन व्यवसायीका तर्फबाट शर्मिला थापा विष्ट (काठमाडौँ), प्रतापसिंह ठकुराठी (कञ्चनपुर), बालकृष्ण गैरे (नवलपरासी), निशा बानियाँ (कास्की), श्यामकुमार विश्वकर्मा (संखुवासभा), र अरुणकुमार पञ्जियार (धनुषा) उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्। सिफारिस भएका उम्मेदवारहरू वरीयता र कार्यक्षमतामा अब्बल ठहरिएका छन्।