काठमाडौं, साउन २३ :

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् ।

सिँचाइका लागि अत्यावश्यक ठुला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गरे ।

बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरे । उनले मधेस सुक्खाग्रस्त क्षेत्र बन्दै गएको समयमा चुरे क्षेत्रका ढुंगा-गिट्टी निकासी रोक्नुपर्नेमा जोड दिए । सांसद शर्माले कानुनी शासनको प्रत्याभूति गराउनुपर्ने र सरकारी निकायमा खर्च कटौतीको प्रस्तावलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

सांसद मायाप्रसाद शर्माले भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेर नेपाली नागरिक बेपत्ता भएको जानकारी गराउँदै उनीहरुको खोजी तथा उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराए । यही साउन २० गते भारतको उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा आएको बाढीका कारण २२ नेपाली सम्पर्कविहीन भएको र त्यसमा जाजरकोट, बर्दिया र धादिङका नागरिक परेको उनले उल्लेख गरे ।

सांसद शर्माले निर्वाचन आयोगले अगाडि सारेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ प्रति आपत्ति जनाउँदै राजनीतिक दलको मूल्यांकन नेपाली जनताले निर्वाचनमार्फत गर्ने तर्क गरे । निजामती सेवा विधेयकलाई शीघ्र अगाडि बढाउन माग गरे ।

सांसद मोहम्मद खालिदले भारतको उत्तराखण्डको बाढीमा परेर बेपत्ता भएका नेपालीको खोजी गर्न आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराए ।

हेर्नुहोस् प्रत्यक्ष प्रसारण :