
नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधन भएको छ ।
क्यान्सरबाट पीडित बस्यालको सुर्खेतको वीरेन्द्रनगर ३, तातापानीस्थित आफ्नै निवासमा शुक्रबार निधन भएको हो ।
उनी नेपाल दलित संघका पूर्वअध्यक्ष, संविधानसभा २०६४ र २०७० का सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्वउपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य थिए ।
पुर्ख्यौली घर पाल्पा रहेका बस्याल २००८ माघ १५ गते भारतको मुम्बईमा जन्मिएका हुन् । अन्तरजातीय विवाह गरेका कारण उनका बुबा भागेर १४ वर्ष भारतमा बसेका थिए । त्यसैबेला उनको जन्म भएको हो ।
उनले कांग्रेस र भ्रातृ संस्थाका विभिन्न पदीय जिम्मेवारीमा रहेर संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
कांग्रेसले अनुभवी नेतृत्व गुमायो : सभापति देउवा
बस्यालको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।
सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘पूर्वस्वास्थ्य राज्यमन्त्री एवं संविधानसभा सदस्य खड्गबहादुर बस्यालको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ ।’
दिवंगत बस्यालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने भनाइ पनि सभापति देउवाको छ ।
उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन् ।