
काठमाडाैं, साउन २४ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र समर्थकहरुले सभापति रवि लामिछानेको कटआउट फोटोमा राखी बाँधेका छन्। सहकारी ठगीलगायत मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेको कटआउटमा राखी बाँधेर उनीहरूले रिहाइको मागमा ऐक्यबद्धता जनाएका हुन्।
बनस्थलीस्थित पार्टी कार्यालयको आँगनीमा राखिएको लामिछानेको कटआउटमा शनिबार राखी बाँध्ने कार्यक्रम भएको हो। उपस्थित समर्थकहरूले सभापति लामिछानेको शीघ्र रिहाइको माग गरे । राखी बाँध्ने क्रममा कतिपय समर्थकहरु भावुक र भक्कानिएका थिए ।
लामिछानेको रिहाइका लागि प्रतीकात्मक कार्यमार्फत दबाब सिर्जना गर्न खोजिएको हो। रविलाई जेल हाल्नु राजनीतिक प्रतिशोधपूर्ण भन्दै सो पार्टी केही दिनदेखि हस्ताक्षर अभियानलाई समेत जारी राखेको छ ।