कञ्चनपुर, साउन २५ :

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा थप एक जना पक्राउ परेकी छिन्। मृतकका पतिकी दिदी पूजा भट्टलाई प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट पक्राउ गरेको हो।

प्रहरीले सम्झनाको हत्या गर्न आफ्नै भाइ पवनलाई आदेश दिएको अडियो फेला परेको छ। अडियोमा पूजाले भनिएको भनाइ सुन्न सकिने प्रहरीले जनाएको छ।

मृतक सम्झनाको माइती पक्षले चार जनामाथि किटानी जाहेरी दिँदै पूजालाई मुख्य योजनाकारको रूपमा आरोप लगाएका थिए। पूजालाई पक्राउ नगरेसम्म शव नउठाउने अडानमा रहेका माइती पक्षले शुक्रबार उनको गिरफ्तारीपछि शव दाहसंस्कार गरेका छन्।

यसअघि प्रहरीले मृतकका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई समेत पक्राउ गरेको थियो। ती सबैलाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहोराले जानकारी दिए।