
साबिक विजेता उत्तर कोरियासँग ११–० को फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यू–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ।
आइतबार भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल एकपक्षीय रुपमा पराजित भयो।
यस हारसँगै नेपाल ३ खेलमा १ जित, १ बराबरी र १ हारसहित ४ अंकमै सीमित रह्यो। समूहको अन्तिम खेलमा जित आवश्यक रहेको अवस्थामा नेपाल कमजोर प्रदर्शनसहित प्रतियोगिताबाट बाहिरिएको हो।
उत्तर कोरियाले भने तीनै खेल जित्दै ९ अंकसहित समूह विजेता बन्दै २०२६ मा थाइल्यान्डमा हुने यू–२० एसियन कपको लागि छनोट भयो। उसले यसअघि साउदी अरेबियालाई १५–० र आयोजक भुटानलाई १०–० ले पराजित गरेको थियो।

नेपालले प्रतियोगितामा भुटानसँग १–१ को बराबरी खेल्दै १ अंक जोडेको थियो भने साउदी अरबमाथि १–० को कठिन जित निकाल्दै ३ अंक बटुलेको थियो। तर अन्तिम खेलमा उत्तर कोरियासँगको फराकिलो हारले नेपाललाई उत्कृष्ट उपविजेता बन्ने सम्भावनाबाट पनि टाढा बनायो।
अब भुटान र साउदी अरेबियाबीच आइतबार हुने अन्तिम खेलको नतिजाले समूहको अन्तिम तालिका निर्धारण गर्नेछ। यस समूहबाट केवल शीर्ष टोलीले मात्र एसियन कपमा स्थान सुरक्षित गर्ने व्यवस्था रहेको थियो।उत्तर कोरिया तीनपल्टको यू–२० विश्व विजेता तथा दुईपल्टको एसियाली च्याम्पियन हो।