काठमाडौं, भदौ ३ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन-डी को कमी देखिएको छ। सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनको रगत परीक्षण गरिएको थियो। जसमा भिटामिन-डी को मात्रा न्यून देखिएको हो।

चिकित्सकहरूका अनुसार भिटामिन-डी को कमीले हड्डी कमजोर हुने, रोग प्रतिरोधात्मक क्षमता घट्ने, हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता लक्षण देखिन सक्छन्। यही कारण, चिकित्सकहरू आज उनलाई नख्खु कारागारमै भेटेर स्वास्थ्य परामर्श दिन गइरहेका छन्।

स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टरबाट चिकित्सकको टोली लामिछानेको रगतको नमुना लिन गएको थियो। अस्पताल स्रोतका अनुसार उनमा अन्य कुनै गम्भीर समस्या नभए पनि लामिछानेमा भिटामिन-डी को कमी देखिएको हो। स्रोतले खानपानको असन्तुलन र घाममा नबसेको कारणले यस्तो भएको हुनसक्ने बताएको छ।

तीन दिनअघि मात्रै उनलाई भैरहवा कारागारबाट स्थानान्तरण गरेर काठमाडौंस्थित नख्खु कारागार ल्याइएको थियो।