
नेपाल ‘ए’ क्रिकेट टोलीले भारतको गुवाहटीमा पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ तारिखसम्म भारतको आसाम राज्यसँग खेलिनेछ। यस सिरिजका लागि क्यानले अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।
हाल नेपाल राष्ट्रिय क्रिकेट टोली अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा सहभागी भइरहेको छ, जहाँ नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
भारत भ्रमणका लागि घोषणा गरिएको ‘ए’ टोलीमा कप्तान अनिलकुमार शाहसहित शुभ कंसाकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, शेर मल्ल र युवराज खत्री रहेका छन्।
क्यानले युवा खेलाडीलाई अवसर दिने उद्देश्यले ‘ए’ टोलीलाई अन्तर्राष्ट्रिय अनुभव दिन भारत भ्रमणको आयोजना गरेको बताएको छ।