
रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा प्रयोग गरिएको ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका चालक गौर बजारका लक्ष्मण महरा हुन्।
प्रहरीका अनुसार रुबीको शव सुटकेसमा राखी फाल्न ई-रिक्सा पाँच सय रुपैयाँमा भाडामा लिइएको थियो। ई-रिक्सा चालकले सुटकेसभित्र के छ भन्ने थाहा नपाएको बताएका छन्।
गगापिप्रा गाउँसम्म लैजान ई-रिक्सा प्रयोग गरिएको र मुडलवा गेटनजिक चक्कामा समस्या आएपछि रिक्सालाई फिर्ता पठाएर सुटकेस सडकमै छाडिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीका अनुसार रुबीकी हत्याराको लगभग पहिचान भइसकेको छ ।
शनिबार साँझ करिब ६ बजे गौर बजार जान भन्दै आमा मिथिलादेवी साहलाई फोन गरेकी रुबी त्यसपछि बेपत्ता भएकी थिइन्। राति घर नफर्किएपछि परिवारले खोजतलास गरे पनि केही पत्ता लागेन। त्यसै राति गौर नगरपालिका–९ स्थित मुडलवा गेटनजिक सडकमा एक शंकास्पद सुटकेस फेला परेको थियो।
स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरीले राति नै घटनास्थल पुगेर सुटकेस खोलेन। आइतबार बिहान अनुसन्धान गर्दा उक्त सुटकेसभित्र रुबीको शव फेला परेको थियो। प्रहरीले आशंका गरिएअनुसार शनिबार राति उनलाई डेरामा बोलाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।