काठमाडौं, भदौ १० :

नेकपा (एमाले) ले १३ भदौका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ। 

पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश गर्न लागिएको विधान संशोधन मस्यौदामाथि आएका सुझावहरू मिलाउन समय लाग्ने भएकाले बैठक सारिएको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सुझाव संकलनको अन्तिम म्याद आजसम्म भएकाले ती सुझावहरू समेट्न समय आवश्यक परेपछि बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो।

एमालेले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गर्ने तयारी गरेको छ। सो महाधिवेशनमा पेस हुने मस्यौदामाथिको अन्तिम रूप दिन १३ भदौमा बैठक तय गरिएको थियो।