
रौतहटको माधवनारायण नगरपालिका–२ मुडबलवाकी रुबीकुमारी साहको हत्या आरोपमा प्रहरीले माधवनारायण ६ निवासी लक्ष्मण पासवानलाई पक्राउ गरेको छ। आफ्नै शरीरमा आगो लगाएको अवस्थामा घर नजिकै फेला परेका पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
शरीरको केही भाग जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि सुरुमा स्थानीय अस्पचालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ ।
आत्महत्याको प्रयास गर्नु अघि पासवानले ९ मिनेट लामो भिडियो रेकर्ड गरेका थिए । जसमा उनले रुबीको हत्या गरेको स्वीकार गरेका छन्। गत शनिबार साँझ रुबीको हत्या गरिएपछि शवलाई सुटकेसमा हालेर पासवानले रिक्सा प्रयोग गरी मिल्काउन खोजेका थिए। तर बाटोमै रिक्सा बिग्रिएपछि उनले शव मुडबलवा गेटनजिकको सडकमा छाडेर फरार भएका थिए। आइतबार बिहान स्थानीयले सुटकेस देखेर प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार पासवान र रुबीबीच पहिले देखिको चिनजान थियो। पासवानले रुबीलाई मन पराउने तर परिवारले अर्कैसँग विवाह गरिदिएको बताएका छन्। छाती र दाहिने हातमा रुबीको नाम र तस्बिर ट्याटु खोपेका पासवान विवाहित हुन् र हालै मलेसियाबाट फर्किएका थिए । प्रहरीले पासवानको प्रारम्भिक बयान र भिडियोका आधारमा अनुसन्धानलाई अगाडि बढाइरहेको छ।