
काठमाडौं, भदौ ११ :
भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ४-१ ले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा बंगलादेशका लागि सोरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन् ।
खेलको पहिलो हाफमा बंगलादेशले ३८औं र ४५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। इन्जुरी समयमा नेपालले एक गोल फर्काए पनि दोस्रो हाफमा थप दुई गोल खाँदै ४-१ को हार बेहोर्न पुग्यो।
यसअघि नेपाल भारतसँग ७-० को फराकिलो हार र भुटानसँग २-१ को जितपछि बंगलादेशसँग फेरि ३-० ले पराजित भएको थियो।
चार देश सहभागी लिग चरणको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान रहेको छ। बाँकी खेलमा नेपालले भारत र भुटानसँग प्रतिस्पर्धा गर्नेछ।