काठमाडौं, भदौ ११ :

रुबी साहको हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । बुधबार जलेको अवस्थामा भेटिएका पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आजै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । पासवान रौतहटको  बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा प्रहरीले फेला परेका थिए ।

पासवानले रुबी साहको हत्या आफैंले गरेको स्वीकार गरेका थिए । उनले रुबीको हत्या गरेर सुटकेसभित्र राखेर फरार भएका थिए । उनीहरुबीचको प्रेम सम्बन्धकै कारण घटना भएको प्रहरीको अनुमान छ । त्यसो त पासवानको हात र छातीमा खोपेको रुबीको नाम र तस्बिरले पनि त्यसमा केही संकेत मिलेको अनुमान गरिएको हो ।गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको अवस्था अज्ञात भएपछि खोजी सुरु गरिएको थियो ।

पासवाना आत्मदाह प्रयास गरेको अवस्थामा  बिहान करिब साढे ६ बजे फेला परेका थिए ।उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।