
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भएको भेटमा लिपुलेकको मुद्दा उठाएपछि भारतीय सञ्चारमाध्यममा व्यापक चर्चा भएको छ।
भारत–चीनबीच अगस्ट १५ मा लिपुलेक हुँदै गरिएको व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै ओलीले लिपुलेक नेपालको ‘अभिन्न अंग’ भएको बताएका थिए।
ओलीको यो अडानपछि भारतीय सञ्चारमाध्यममा व्यापक प्रतिक्रिया देखिएको छ। भारतीय मिडियाले ओलीको धारणा 'राष्ट्रवादी अडान'को रूपमा चित्रण गरेका छन् भने चीनको मौनतालाई ‘रणनीतिक मौनता’ भनेर व्याख्या गरेका छन्।
चिनियाँ पक्षको आधिकारिक विज्ञप्तिमा लिपुलेकबारे कुनै उल्लेख नभएको भन्दै भारतीय मिडियाले चीनले यो विषय टारेको दाबी गरेका छन्। भारतले भने नेपालको दाबी अस्वीकार गर्दै ऐतिहासिक आधार नभएको बताएको छ।
कुन मिडियाले के भने ?
भारतीय समाचार एजेन्सी पीटीआईले भारतले नेपालको दाबी ‘न त ऐतिहासिक, न प्रमाणमा आधारित’भन्दै अस्वीकार गरेको उल्लेख गरेको छ।
भारत २४ लाइभ ले ओलीले ‘दो टूक’ शैलीमा लिपुलेक नेपालको भएको दाबी गर्दै चीनसँग सम्झौता पुनर्विचार गर्न आग्रह गरेको लेखेको छ।
अग्निवाणीले ओलीको भनाइलाई ‘सम्प्रभुता के लिए चुनौती’ भनेर उल्लेख गरेको छ।
नवभारत टाइम्स, न्युज १८, जागरण, ईटीभी भारत, जी न्यूज, र दी ट्रिब्युन लगायतका मिडियाले ओलीले चीनसँग कडा कुरा उठाएको जनाएका छन्।