काठमाडौं, भदौ २२ :

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेन-जी’समूहले भोलि (सोमबार) शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ। राजधानीको माइतीघर मण्डलामा हुने यो प्रदर्शन एकैसाथ देशका विभिन्न स्थानहरूमा पनि आयोजना गरिने जनाइएको छ।

प्रदर्शन मर्यादित, शान्तिपूर्ण र गैरराजनीतिक हुने आयोजकहरूले बताएका छन्। उनीहरूले जनताको साझा सरोकारका विषयमा ऐक्यबद्धता जनाउँदै सबैलाई सहभागिताको आह्वान गरेका छन्।

आयोजकहरूमध्ये एक आम नेपाली युवाले आइतबार सूचना जारी गर्दै भनेको छ, ‘भ्रष्टाचारविरुद्धको यो संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान हो।’

यसैबीच, भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ । भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् । निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रशासनले प्रदर्शन गर्न अनुमति दिएको हो ।