
नेपाली सेनाले हालका दिनमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा सेनासम्बन्धी प्रसारित हुँदै आएका भ्रामक, अपुष्ट तथा झुटा समाचारप्रति आम जनसमुदायलाई सतर्क रहन आग्रह गरेको छ।
सेनाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आधिकारी माध्यमबाहेक आएका नेपाली सेनासम्बन्धी कुनै पनि सूचना, टिप्पणी वा विश्लेषणबारे भ्रममा नपर्न र यस्ता विषयमा विश्वास नगर्न अनुरोध गरेको हो।
नेपाली सेनाले आफ्नो गतिविधि तथा आधिकारिक धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ।
सेनाले जनाएअनुसार, यस्ता संवेदनशील विषयमा जानकारी लिन सेनाको आधिकारिक स्रोतहरू मात्र प्रयोग गर्नुपर्छ। साथै, सेनासम्बन्धी कुनै जानकारी आवश्यक परेमा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने र स्थानीय तहमा रहेका पृतना मुख्यालयहरूसँग पनि समन्वय गर्न सकिने विज्ञप्तिमार्फत जनाएको छ।