काठमाडौं, भदौ २७ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अनिवार्य रहेको बताएका छन्। जनताबाट मत पाए पनि विश्वास गुमाएको स्वीकार गर्दै उनले आत्मसमीक्षा आवश्यक रहेको बताए।

शुक्रबार एक भिडियो सन्देशमार्फत थापाले भने, ‘नयाँ पुस्ताले कांग्रेसलाई किन अस्वीकार गर्‍यो भन्ने प्रश्नको उत्तर खोजेर ठोस कदम चाल्नुपर्छ। गति र मति अनुसार पार्टी चल्न नसकेको छ।’

उनले कांग्रेसको छविमा लागेको दाग ऐना पुछेर नसकिने भन्दै सिंगो देशसँग माफी माग्नुपर्ने बताए। भदौ २३ र २४ गते भएका अमानवीय घटनाहरूको छानबिन हुनुपर्ने माग गर्दै, नियोजित आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे।

थापाले पुनर्निर्माणको अग्रसरता कांग्रेसले लिनुपर्ने बताए। राष्ट्रपतिसहित आन्दोलनकारी र राजनीतिक दलहरूसँग संवाद भइरहेको जानकारी दिँदै संविधानअनुसार नयाँ सरकार गठनमा कांग्रेस सक्रिय रहेको उनले स्पष्ट पारे।

उनको भनाइमा, ‘संविधान एकपटक ट्रयाकबाट चिप्लियो भने फर्काउन सकिँदैन।’ उनले आज साँझसम्म नयाँ सरकार बन्ने विश्वास पनि व्यक्त गरे।