
फाइल तस्बिर ।
काठमाडौं, भदौ २७ :
मुख्यसचिव एकनारायण अर्यालले नयाँ नागरिक सरकारसँग सहकार्य गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी पुस्ताको मागअनुसार गठन हुने सरकारलाई ब्युरोक्रेसीले पूर्ण साथ दिने बताए।
अर्यालले राहदानीदेखि वैदेशिक रोजगारीसम्मका सेवा अनलाइनबाट सुरु भइसकेको जानकारी दिए। अत्यावश्यक सेवाहरू सञ्चालनमा रहेको भन्दै उनले खानेपानी, विद्युत, टेलिफोनजस्ता सेवामा सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए।
सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र स्थिति सामान्य बन्दै गएको उनले जानकारी दिए। साथै, पूर्वाधार तथा सवारीसाधनको क्षति प्राविधिक मूल्यांकनमार्फत गरिने बताए।