काठमाडौं, भदौ २७ :

जेनजी आन्दोलनको क्रममा काठमाडौं उपत्यकामा ज्यान गुमाएका व्यक्तिहरूको पोस्टमार्टम प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ। प्रहरीबाट पोस्टमार्टम गर्न सिफारिस ल्याइएका शवहरूको प्रक्रिया अघि बढाइएको हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा हालसम्म ३६ वटा शव संकलन गरिएको फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए।

यद्यपि, शव अस्पतालमा पुगे पनि प्रारम्भिक घटनाको मुचुल्का नबन्दा पोस्टमार्टम प्रक्रिया केही समय रोकिएको थियो।

डा. चौधरीका अनुसार, ३६ वटा शवमध्ये ३५ जनाको पहिचान भइसकेको छ। तीमध्ये २ जना महिला र बाँकी पुरुष छन्। अधिकांश मृतकको उमेर ३० वर्षभन्दा कम रहेको जनाइएको छ।

शिक्षण अस्पतालले पोस्टमार्टम सम्पन्न भएपछि शवहरू मृतकका परिवारको जिम्मा लगाइने जानकारी दिएको छ। हालसम्म ९ जनाको सिफारिस प्राप्त नभएकाले ती शवहरूको पोस्टमार्टम प्रक्रिया सुरु हुन बाँकी रहेको अस्पतालले जनाएको छ।