काठमाडौं, असोज ७ :

नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब बढेको छ। १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्दै अभियान सुरु गरेका छन्। 

नेता गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई लगायतले अगुवाइ गरेको यो अभियानमा सबै धारका नेताहरू सहभागी भएको जनाइएको छ। असोज ६ देखि सुरु भएको अभियानलाई सबै प्रदेशमा विस्तार गरिने बताइएको छ।

कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउन आवश्यक ठानेमा वा ४०% महाधिवेशन प्रतिनिधिले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। तर, केन्द्रीय समितिबाट यस्तो निर्णय आउने सम्भावना न्यून भएकाले हस्ताक्षर अभियान सुरु गरिएको नेताहरूले बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्ती स्वीकार गर्दै सुधारका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्। पार्टीलाई वर्तमान अवस्थाबाट माथि उकास्न विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन आह्वान गर्न प्रक्रिया थालिएको हो। तर, देउवा पक्षका नेताहरु भने अभिभावकमाथि आक्रमण भएर उपचार गराइरहेको अवस्थामा नेतृत्व परिवर्तनको कुरा उठाउन नहुने बताउँछन् ।