काठमाडौं, असोज १० :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भूमिका खेल्नुपर्ने बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आवश्यक्ता औल्याएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले मुलुक सधैँ यस्तो अवस्थामा रहन  नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्ने पनि बताइन् ।

उनले मुलुकलाई निकास दिन राजनीतिक दलहरुलाई सुझाव दिन पनि समाजका सबै तहलाई आग्रह गरिन् । राजनीतिक दलहरुले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाई गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो । 

उनले भनिन्, ‘सधै यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नु पर्छ । र हाम्रो शक्तिका स्रोत भनेको जनताहरु हुन । पार्टीहरुको बीचमा पनि समन्वय र सहकार्य गर्नु आवश्यक छ  भन्ने मलाई लागेको छ । पार्टीहरु र विभिन्न सबै आस्थाका धरोहरको बीचमा छलफल, समन्वय भएर नै हामीले यो समस्यालाई समाधान दिन सक्छौं । र, हामी जस्तो खालको बसाईमा छौं । हाम्रो बसाईँ, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरुलाई पनि पीर पर्न सक्छ । त्यहाँ पनि समस्याहरु आउन सक्छ । त्यसैले हामीले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ । र, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । हामी सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेलौं । मैले पनि एउटा वरिष्ठ नागरिकको हैसियतले, सबैले चिनेको नागरिकको हैसियतले मैले गर्ने कुरा गर्छु । र दलहरुले बढी भुमिका खेल्नुपर्ने म ठान्छु । ’

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समेत बताइन् ।