
भक्तपुर, असोज १२ :
नेकपा एमालेले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज गुन्डुमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताए।
यस्तै, पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनामाथि काठमाडौँ उपत्यका छोड्न र विदेश जान नपाउने गरी सरकारले गरेको निर्णयप्रति बैठकले आपत्ति जनाएको ज्ञवालीले जानकारी दिए ।
एमालेले दसैँलगत्तै असोज १९ र २० गते पुनः सचिवालय बैठक बसेर थप छलफल गर्ने र असोज २७-२९ मा केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको पनि उनले बताए ।