काठमाडौं, असोज २१ :

सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएका पीडितलाई  तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मंगलबार बसेको बैठकले बाढीपहिरोबाट विस्थापित भएकाहरूलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिइएको हो।

सरकारले घर भत्किएर विस्थापित भएका पीडितलाई अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवास निर्माणका लागि व्यवस्था मिलाउने जनाएको छ। अस्थायी आवासका लागि प्रत्येक पीडित परिवारलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। तीमध्ये २५ हजार रुपैयाँ तत्काल प्रदान गरिनेछ भने बाँकी २५ हजार रुपैयाँ एक लेबलको घरको संरचना निर्माण भएपछि मापदण्डअनुसार उपलब्ध गराइनेछ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत पाउनेछन् । उनले स्थायी आवास निर्माणको लागि भने हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।

बैठकले सडक तथा अत्यावश्यक सेवा सुचारु गर्न तीन वटै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ । सडकहरु संघीय, प्रदेश र स्थानिय सरकारको भएको हुनाले तद् निकायले आफ्नो सडक सेवा, खानेपानी विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु तत्काल सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । उक्त कार्यत्रका लागि प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले सहयोग गर्ने निर्णय भएको छ ।

 विपद्पछि महामारीको संभावना देखिएकोले स्वास्थ्य मन्त्रालयसँगै प्रदेश र स्थानिय सरकारका स्वासथ्य संस्थाले संयुक्त रुपमा पहल गरेर शतर्कता अपनाउने निर्णय गरिएको उनले जानकारी दिए। बैठकमा विपद्मा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

  वर्षाका कारण ५२ जनाको निधन

गत शुक्रवार र शनिवारको वर्षाका कारण हालसम्म ५२ जनाको निधन भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख भट्टकाअनुसार पहिरोमा परी ३९ जनाको ज्यान गएको छ । पहिरोमा परी मृत्यु हुनेहरुमा इलाममा ३७, पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन् ।

 बाढीमा परेर मृत्यु हुनेहरु ११ जना रहेका छन् । उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक÷एक जना रहेका छन् । चट्याङबाट रौतहटमा दुई जनाको निधन भएको छ । हाल चार जना रसुवामा बेपत्ता रहेका कार्यकारी प्रमुख भट्टले बताए । 

इलाममा एक जना गरी ५ जना बेपत्ता छन् । घाइते ४७ जना रहेको बताउनु भयो । पहिरोबाट ३३ जना, चट्याङबाट १४ जना घाइते भएका छन् । बेपत्ता भएकाहरुको खोजि कार्य जारी रहेको र त्यसका लागि तीन वटै सुरक्षा निकाय परिचालित रहेको बताए ।