
प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आयोजित शोक सभामा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले विपिनसहित आक्रमणमा परेका सबै नेपालीको दुःख र बलिदानप्रति गहिरो समवेदना प्रकट गरेकी हुन्।
विपिन जोशीको शव स्वदेश आइपुग्यो, विमानस्थलमा प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरूद्वारा श्रद्धाञ्जली
श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले इजरायलमा भोगिएको पीडा र संकटको अवस्था नेपालबाट बसेर महसुस गर्न असम्भव रहेको उल्लेख गरिन्। उनले भनिन्, ‘त्यहाँ अपहरणको शिकार हुँदा कति दु:ख खेपे होलान्, कति कष्ट खेपे होलान्, के भएको थियो होला त्यो युवाको मनमा।’
प्रधानमन्त्री कार्कीले विपिन जोशीलाई ‘सिर्फ एक आमाको छोरा होइन, सम्पूर्ण नेपाली आमाको छोरा’ भनेर सम्बोधन गरिन्। उनले भनिन्, ‘हामीलाई लाग्छ, विपिन एउटा नेपाली छोरो, हामी सबैको हो। अब कसैले विपिनलाई बिर्सन सक्दैन। उसले गरेको संघर्ष, हिम्मत, साहस सबै हाम्रो गौरव हो।’
उनले विपिनको स्मृतिलाई सधैं मनमा बाँचिरहने उल्लेख गर्दै भनिन्, ‘तर पनि विपिन छ हाम्रो लागि। उसलाई सशरीर नदेखे पनि हाम्रो मनमा छ। विपिन कहिल्यै पनि मर्ने छैन।’
