
सरकारले ११ वटा देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाए पनि तत्काल ती देशहरूमा नयाँ राजदूत नपठाउने भएको छ। त्यसको सट्टामा त्यहाँ कार्यरत परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।
असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, चीन, बेलायत, जापान, जर्मनी, साउदी अरेबिया, मलेसिया, कतार, स्पेन, इजरायल र रुसका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
राजदूत फिर्ता गरिएका देशहरूमा नयाँ राजदूत पठाउन समय लाग्ने भएकाले, अहिलेका लागि दूतावासका उपनियोग प्रमुखहरूले नै कार्यवाहक राजदूतको जिम्मेवारी लिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार राजदूत नहुनु परे उपनियोग प्रमुखले स्वतः कार्यवाहक राजदूतको जिम्मेवारी लिन्छन्, यसको लागि छुट्टै निर्णय आवश्यक हुँदैन।
अमेरिकामा लोकदर्शन रेग्मी फर्किएपछि सहसचिव शरदराज आरणले कार्यवाहक राजदूतको जिम्मा सम्हाल्नेछन्।चीनमा डा. कृष्णप्रसाद ओली फिर्ता भएपछि रोशन खनालले नेतृत्व गर्नेछिन्।बेलायत, साउदी, मलेसिया, जापान, स्पेन, इजरायल लगायतका देशहरूमा पनि यही प्रक्रिया लागू हुनेछ।
किन फिर्ता गरिए राजदूतहरू?
सरकारका अनुसार, यी राजदूतहरू पुराना सरकारका राजनीतिक कोटाबाट नियुक्त भएका थिए। जेन–जी आन्दोलनपछि बनेको नयाँ अन्तरिम सरकारले पुराना राजदूतहरूको समावेशीता र विश्वसनीयता नपुगेको भन्दै फिर्ता गर्ने निर्णय गरेको हो।
कुनै कुनै दूतावासमा पर्याप्त जनशक्ति भएकाले नयाँ राजदूत नियुक्त नगरी अहिलेका कर्मचारीमार्फतै काम अघि बढाउने नीति लिएको सरकारले जनाएको छ।