सोलुखुम्बु, कात्तिक ६ :

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

बिहीबार साँझ साढेतिर माप्य दूधकोसी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष सगुजित राइले बताए । मृतकहरूको सनाखत भएको छैन । चालकसहित ६ जना घाइते भएको अध्यक्ष राईले बताए ।

खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको राईले जानकारी दिए । माप्य दूधकोसी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे खुल्न नसके पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।