
मधेश प्रदेश सरकार विस्तारबारे छलफलका लागि आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ ।
सत्तापक्षका नेकपा माओवादी केन्द्र,जसपा नेपाल,जनमत, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको बतताईएको छ । बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा जनमतबाट फुटेको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने प्रयासबारे पनि छलफल हुने बताईएको छ ।
खासगरी बैठकमा सरकार बिस्तार,मन्त्रालय बाँडफाँड,सरकारले विश्वासको मत लिने लगायत विषयमा छलफल हुने बताइएको छ । ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त भएका हुन् । उनले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
उनले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् । बिना विभागीय मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छैन ।
सत्तापक्षीय दलहरूभित्र मन्त्रालय बाँडफाँडको बिषय नटुंगिएकोले मुख्यमन्त्री नियुक्त भएको एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।