काठमाडौं, कात्तिक १२ :

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी प्रतिनिधि, सरकार र राजनीतिक दलबीच छलफल चलिरहेकै बेला बाहिर एक समूहले नाराबाजी गरेका छन्। आफूलाई घाइतेहरूको एकीकृत समूह बताउने जेनजीहरूले सरकारको जवाफदेहीता माग्दै प्रदर्शन गरेका हुन्।

उक्त समूहका सदस्य रुपिन खड्काका अनुसार छलफलमा वास्तविक घाइतेहरूको प्रतिनिधि समावेश नगरिएकाले उनीहरूले विरोधस्वरूप बालुवाटार पुगेका हुन्। ‘हामी वास्तविक घाइतेहरू त्यहाँ छैनौं, उनले भने, ‘त्यसैले सरकारसँग जवाफ माग्न हामी आएको हौं ।’

‘घाइतेको समूह’ घोषणा गरी अघि बढ्ने योजना रहेको खड्काले जानकारी दिए। उक्त समूहले यसअघि पनि प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरी घाइतेहरूको माग राख्दै आएको छ।

‘हामीसँग पटक–पटक छलफल गरेर माग सुन्ने गरिएको छ, तर यसपटक छलफलका लागि नामसम्म मागिएन। वास्तविक घाइतेहरूलाई पन्छाएर छलफल गर्नु हेपाइ हो,’ खड्काले असन्तुष्टि जनाए।उनका अनुसार, समूहले आगामी दिनमा पनि ‘वास्तविक घाइतेहरूको आवाज सशक्त रूपमा उठाउने’ चेतावनी दिएको छ।