
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओडिआई शृंखलाको दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको छ ।
बिहीबार भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमै ५ विकेटको क्षतिमा पूरा गर्यो । यूएईका ओपनर आर्यन्श शर्माले ९८ रनको उत्कृष्ट प्रदर्शन गरे भने अलिशान सराफुले ४५ र मुहम्मद वासीमले २६ रन जोडे ।
नेपालका बलरमध्ये सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकका आधारमा ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो ।
रोहितले १३० बलमा १०९ रन बनाए र ओडिआई करियरको दोस्रो शतक पुरा गरे ।त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए ।
यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन खर्चिएर ४ विकेट लिए भने जुनेद सिद्दिकीले ३ विकेट हात पारे ।
यो पराजयसँगै नेपालले शृंखलामा लगातार दोस्रो हार व्यहोरेको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।

