काठमाडौं, कात्तिक १३ :

प्रधानमन्त्री सुशीला कार्कीले नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जलाई राहदानी छपाइका काममा शीघ्र पहल गर्न आग्रह गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा विचार–विमर्श भएको थियो । यो भेट प्रधानमन्त्री कार्की र राजदूत भोल्जबीचको पहिलो औपचारिक भेट हो ।

भेटमा प्रधानमन्त्री कार्कीले राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा तोकिएको मितिअगावै आवश्यक तयारी अघि बढाउन राजदूत भोल्जसँग अनुरोध गरिन् । उनले नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्न जर्मन पक्षको सहयोगप्रति विश्वास व्यक्त गरिन् ।

जवाफमा राजदूत भोल्जले आफ्नोतर्फबाट सम्बन्धित कम्पनीलाई आवश्यक पहल गर्न अनुरोध गर्ने प्रतिबद्धता जनाए । उनले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै जर्मनी सधैं नेपालका प्राथमिकताअनुसार सहयोग गर्न तत्पर रहने बताए ।