काठमाडौं, कात्तिक १५ :

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई सहिद घोषणा गर्न माग गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले गौतमको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उनलाई सहिद घोषणा गर्नुपर्ने आवश्यकता औँल्याए।

श्रेष्ठले गौतमलाई महान सहीद बताउँदै भने, ‘उहाँ श्रमिक वर्गको पक्षमा सधैं आवाज उठाउने एक महान नेता हुनुहुन्थ्यो।’ उनले जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौं श्रमिकहरूको रोजीरोटी गुमेको उल्लेख गरे।

‘अस्ति भर्खरै जेन—जी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झण्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि सहिद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर मर्नेहरूलाई सहिद भनियो, तर श्रमिकको हकका लागि ज्यान गुमाउने कमल गौतमजस्ता नेता सहिद बन्न सक्दैनन्?’ श्रेष्ठले भने, ‘हामी हाम्रो महासंघको तर्फबाट कमल गौतमलाई ती फटाहा र चोरहरूभन्दा महान सहिद घोषित गर्न चाहन्छौं।’

उनले श्रमिकहरूको अधिकारका लागि आफूहरूको संघर्ष जारी राख्ने दृढता व्यक्त गर्दै भने, ‘हाम्रो आन्दोलनको लक्ष्य समाप्त भएको छैन, हामी श्रमिकका हकका लागि निरन्तर लडिरहनेछौं।’

जिफन्टका उपाध्यक्ष समेत रहेका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला  बिहीबार निधन भएको थियो ।