काठमाडौं, कात्तिक १६ :

 नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका ८ कम्युनिस्ट घटकबीच पार्टी एकताको सहमति भएको छ।

 माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संयुक्त बैठकपछि ८ राजनीतिक दलका शीर्ष नेताहरूले एकता सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। नयाँ पार्टीको नाम टुंगो लाग्न बाँकी राख्दै चुनाव चिह्न ‘पाँच कुने तारा’ रहने सहमति गरिएको छ।

सहमतिपत्रमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहका हस्ताक्षर छन्।

एकता प्रकृयामा सहभागी सबै घटकहरुका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना यही कार्तिक १९ गते गरिने भएको छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरु गरिने सहमति पत्र उल्लेख गरिएको छ ।

हस्ताक्षर कार्यक्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल र सम्मानित नेता झलनाथ खनाल गएनन्। , उनीहरू माओवादीसँगको एकीकरण निर्णयप्रति असन्तुष्ट छन्।

माओवादी केन्द्रभित्र पनि एकता निर्णयका बारेमा असन्तुष्टि देखिएको छ। नेताहरू जनार्दन शर्मा, सुदन किराती लगायतले पार्टी नेतृत्वको निर्णयप्रति आपत्ति जनाएका छन्।

एकीकृत समाजवादीको केन्द्रीय समितिले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट माओवादी केन्द्रले पनि एकीकरणको निर्णय गर्दै शनिबार सहमतिपत्रमा हस्ताक्षर गरेको हो।