
फाइल तस्बिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय लगिएको छ।
‘जेनजी आन्दोलन’को क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बुधबार लामिछानेलाई बयानका लागि बोलाएको हो।
नख्खु कारागार स्रोतका अनुसार आयोगले सोधपुछका लागि झिकाउन निर्देशन दिएपछि लामिछानेलाई आज बिहान कारागारबाट सिंहदरबारतर्फ लगिएको हो।
सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए। तर, कारागार प्रशासनले त्यसबेला दिएको भनिएको पत्रको आधिकारिकतामाथि प्रश्न उठेको थियो। पछि उनी पुनः कारागारमै फर्किएका थिए।
घटनाको वस्तुस्थिति बुझ्न जाँचबुझ आयोगको टोली गत सोमबार नख्खु कारागार पुगेको थियो। त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो।