काठमाडौं, कात्तिक १९ :

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग पार्टी एकता नगर्ने र वाम आन्दोलनलाई नयाँ दिशामा लैजाने घोषणा गरेका छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भूसालले देशभक्ति वामपन्थी मोर्चा निर्माण गरेर समाजवादी बाटोमा अघि बढ्ने बताए।

‘हामी माओवादीमा जाँदैनौं। देशभक्त, जनमुखी र वैचारिक वामपन्थीहरूको एकता गरी नयाँ पार्टी बनाउँछौं,’ भूसालले भने, ‘यो पार्टी केवल नेकपा (एकीकृत समाजवादी) का नेताहरूको मात्र होइन, सम्पूर्ण वामपन्थीहरूको साझा संगठन हुनेछ।’

घनश्याम भुसाललगायतका नेताहरू र माओवादीतर्फ सचिवालय सदस्य जनार्दन शर्मा र राम शर्मा भने उक्त एकता प्रक्रियामा सहभागी नहुने र वाम आन्दोलनलाई नयाँ रूप दिन छुट्टै अभियान अघि बढाउने तयारीमा रहेका छन्।

यता नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत आठ साना दलबीच अहिले काठमाडौंको भृकुटीमण्डपमा पार्टी एकता घोषणा सभा हुँदैछ ।एकता प्रक्रियामा सहभागी दलहरूले नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘तारा’ रहने सहमति गरेका छन्। नयाँ बन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ।