
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०८२ साल फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औं बोर्ड बैठकले उक्त मितिमा प्रतियोगिता गर्ने निर्णय गरेको हो।
बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार दिने सिफारिस मन्त्रिपरिषद्मा गर्ने निर्णय पनि गरेको छ।
राष्ट्रिय खेल संघका लागि कडाइ
बैठकले लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई ३ महिनाभित्र प्रतियोगिता गर्न निर्देशन दिने निर्णय गरेको छ। त्यस्तै, खेल संघले घोषणा गरेको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउनुपर्ने निर्णय पनि गरिएको छ। यसबाहेक खेल संघहरूले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरिने बैठकमा जनाइएको छ।