चितवन, कात्तिक २१ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले पुराना दलहरूको औचित्यमाथि प्रश्न उठिरहेको बेला रास्वपाले पनि आत्मसमिक्षा गर्नुपर्ने बताएका छन्।

शुक्रबार चितवनको सौराहामा जारी केन्द्रीय विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले पार्टीभित्र स–सानो विषयलाई लिएर दूरी बढाउने प्रवृत्ति देखिएको बताए।

‘पुराना दलहरूको औचित्यमाथि प्रश्न उठिरहेका बेला कतै तिललाई पहाड बनाएर आफ्नैबीच दूरी बढाउने काम भइरहेको त छैन?’उनले प्रश्न गरे, ‘रास्वपालाई कमजोर बनाएर हामी कहिल्यै बलियो बन्न सक्दैनौं। मझेरी खनेर आँगन पुर्ने काम गर्नु हुँदैन।’

अर्यालका अनुसार पार्टीभित्र को कति बलियो छ भन्ने कुरा महाधिवेशनमै स्पष्ट हुनेछ। ‘रास्वपा अहिले मात्रै ४० महिनाको भएको पार्टी हो। तर यसको विकास र विस्तारमा अप्रत्याशित अपेक्षा त छैन?’ उनले प्रश्न गरे।

उनले रास्वपाभित्र टिममा काम गर्ने संस्कार अभावमा पार्टी कमजोर बन्न सक्ने चिन्ता व्यक्त गरे। ‘हामीमा टिम संस्कार नदेखिएको हो कि भन्ने शंका लाग्छ। कतै हामी पनि पुरानै दलहरूको बाटोमा हिँड्ने खतरा बढेको त छैन?’ अर्यालले चेतावनी दिए।

उनका अनुसार पार्टीभित्रको असन्तुष्टि समाधान र सामूहिक नेतृत्वको अभ्यासमार्फत रास्वपालाई बलियो बनाउँदै लैजानु आवश्यक छ।