काठमाडौं, कात्तिक २१ :

 जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले सम्बद्ध व्यक्तिहरूको धमाधम बयान लिन सुरु गरेको छ। आयोगले  भदौ २३ र २४ गते भएका घटनामा केन्द्रित भएर धमाधम बयान लिइरहेको छ।

स्रोतका अनुसार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसम्म पुर्‍याएर टुङ्ग्याउने तयारी गरेको छ।

करिब तीन महिनाको म्याद पाएको आयोगले पहिलो एक महिनासम्म आन्दोलनका बेला फिल्डमा खटिएका प्रहरी र जिम्मेवारीमा रहेका अधिकारीहरूको नामावली संकलनमै समय बिताएको थियो। आयोगले गत बिहीबार मात्र प्रहरीको पूर्ण विवरण प्राप्त गरेको थियो। आयोगले काठमाडौं केन्द्रित अनुसन्धान सुरु गर्नु अघि देशभरका बढी प्रभावित क्षेत्रहरूको स्थलगत अध्ययन गरिसकेको जनाएको छ।

यसअघि आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशी,  थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको बयान लिइसकेको छ।

सरकारले गत  असोज ५ मा मन्त्रिपरिषद्को निर्णयबाट कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगका सदस्यहरूमा विज्ञानराज शर्मा र विपी भण्डारी रहेका छन्। जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली, आगजनी, जेल तोडफोड र अन्य घटनामा ७६ जनाको मृत्यु भएको थियो। 
यसैबीच, नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई छानबिन आयोगले बयानका लागि बोलाए लाखौँ कार्यकता सिंहदरबार छिर्ने चेतावनी दिएका छन् ।