
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन नगर्ने हो भने नियमित महाधिवेशन अब अनिवार्य भएको बताएका छन्। पार्टीभित्र महाधिवेशनको मिति र स्वरूपबारे तीव्र मतभेद भइरहेका बेला शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरअनुसार पार्टीले अब स्पष्ट निर्णय गर्नुपर्ने बताएका हुन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले भने, ‘विशेष महाधिवेशनको मागलाई या त विशेष महाधिवेशनको आयोजनाले वा त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्र सम्बोधन गर्न सकिन्छ। यसलाई कुनै ‘इफ, बट, इन्तु, परन्तु’ नगरिकन प्रष्ट बुझ्न जरुरी छ।’
उनका अनुसार नेपाली कांग्रेसको विधानले नियमित महाधिवेशन पुस, माघ, वैशाख वा त्योभन्दा अघिपछि गर्न अवरोध गर्दैन। तर विशेष महाधिवेशन भने हस्ताक्षर बुझाएको ९० दिनभित्र सम्पन्न गर्नुपर्ने बाध्यात्मक प्रावधान विधानको दफा १७(२) मा स्पष्ट रूपमा उल्लेख छ।
शर्माले भने, ‘५४ प्रतिशत प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने अहिलेको मूल प्रश्न हो।’
पार्टीभित्र संस्थापन पक्षले महाधिवेशन ढिलो गर्नुपर्ने पक्षमा रहेको बताइन्छ भने महामन्त्री शर्मा र गगन थापाको पक्षले विशेष महाधिवेशन नगर्ने हो भने नियमित महाधिवेशनको विकल्प नरहेको बताइरहेका छन्।
शर्माले पार्टीभित्र एकता र परिपक्व निर्णयका लागि केही दिनमै निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेका छन् । महाधिवेशनको मिति तय गर्न नसक्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झन्डै एक महिनादेखि जारी छ। बैठक मिति विवादकै कारण हाल मंगलबारसम्मका लागि स्थगित गरिएको छ।