
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरु निर्वाचन आयोगमा बुझाएको छ । आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाइएको हो ।
नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध दलका प्रतिनिधिहरुले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगाएतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।सबै कागजात पुरा गरेर आयोगलाई दिएको भन्दै छिटै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने उनले बताए।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले पार्टीले निरन्तर कम्युनिस्ट एकतालाई जारी राख्ने बताए । जनार्दन शर्मा, घनश्याम लगाएत लगायत कम्युनिस्ट नेताहरु एउटै बाटोमा रहेपनि आफूहरु मूल बाटोमा लाग्दा जनार्दन र घनश्याम घुम्तीमा नै अल्मलिएको उनले बताए । उनले सबै नेताहरुलाई एकतामा सहभागी हुन आह्वान समेत गरे।
उनले छुटेका नेताहरु पनि एक दिन कम्युनिस्ट एकतामा आउने विश्वास व्यक्त गरे । माओवादी, नेकपा एकीकृत समाजवादी लगाएत १० बामपन्थी दलबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले यसअघि नै दल दर्ताका लागि आयोगमा निवदेन दिएको थियो । दल दर्ताका लागि केही कागजात अपुग भएपछि आयोगले माग गरे बमोजिमको कागजात सो पार्टीले उपलव्ध गराएको हो ।