काठमाडौं, कात्तिक २८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टीबाट राजीनामा दिएका छन्। उनले

कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएका हुन् ।नेतृत्वमाथिको असन्तुष्टि बढ्दै गएपछि उनले अन्ततः पार्टी नै परित्याग गरे।  उनले चितवनको विस्तारित बैठकमा विशेष महाधिवेशनको माग प्रस्तुत गरेका थिए।

महामन्त्रीलाई पत्र बुझाउँदै उनले पार्टीमा रहँदा गरेको योगदानप्रति कृतज्ञता व्यक्त गरे। परियारले आफूले पार्टी र देशका हितका लागि इमानदार रूपमा काम गरे पनि पार्टीभित्र आवश्यक विचार बहसलाई स्थापित गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै कमजोरी स्वीकार गरेका छन् ।

परियार अब जनार्दन शर्मा नेतृत्वको अभियानमा जोडिने भएका छन्।

यसअघि पनि रास्वपाकी केन्द्रीय सदस्य सुमना श्रेष्ठले नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी छाडेकी थिइन्। उनी अहिले नयाँ दलमा आबद्ध हुन खोज्दै छिन् ।