
बाराको सिमरामा नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादपछि उत्पन्न तनाव आज (बिहीबार) दोस्रो दिन पनि कायम रहेको छ।
बिहान १० बजेदेखि जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण सिमरा आसपासको यातायात पूर्ण रूपमा ठप्प रहेको स्थानीयहरूले बताएका छन्। जेनजी पक्षले आफूहरूलाई कुटपिट गर्ने एमालेका नेता–कार्यकर्ता पक्राउको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेको हो।
दुई वडाध्यक्ष पक्राउ, चार जना अझै फरार
बुधबारको झडपपछि प्रहरीले जेनजी युवामाथि कुटपिट गरेको आरोपमा दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमोदिन अन्सारी रहेका छन्। दुवैजना एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। बाँकी चारजनालाई प्रहरीले नपक्रेको भन्दै आज पुनः विरोध प्रदर्शन गरेका हुन्।
बुधबार परवानीपुरमा एमालेले आयोजना गरेको मधेश प्रदेशस्तरीय युवा भेलालाई लक्षित गर्दै जेनजी युवाले विरोध प्रदर्शन गरेपछि दुई पक्षबीच झडप भएको थियो। घटनापछि आक्रोशित युवाहरू सिमरा विमानस्थलसम्म पुगेका थिए र विमानस्थलको मुख्य गेट समेत ढालिदिएपछि स्थिति झन् जटिल बनेको थियो।