बारा, मंसिर ४ :

सिमरामा जेन-जी युवाहरूले गरेको प्रदर्शन थप उग्र बनेको छ । प्रदर्शनकारीहरूले कर्फ्यु अवज्ञा गर्दै सडकमा आगजनी र ढुंगामुढा गरेपछि प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर प्रहार गरेको छ।

प्रहरीका अनुसार घटनामा ४ जना प्रदर्शनकारी र ६ जना प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीहरूले सिमरा बजारस्थित प्रहरी बिट तथा एमाले कार्यालयका केही सामग्री जलाएका छन्। एमालेका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको आरोपसहित जेन-जीका नाममा भएको प्रदर्शन विध्वंशक भएको हो ।

जिल्ला प्रशासन र सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा राख्न सक्रिय प्रयास गरिरहेको र शान्ति कायम राख्न सबै पक्षसँग समन्वय भइरहेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जेन-जी संयोजक सम्राट उपाध्यायसँग संवाद गरी समस्याको शान्तिपूर्ण समाधान खोज्न पहल गरिरहेका छन्।