काठमाडौं, मंसिर १० :

कर्णाली प्रदेशका अर्थमन्त्री तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहलाई प्रतिष्ठित ‘एसियन एथलेटिक्स पिन अवार्ड’ प्रदान गरिएको छ।  

भियतनामको हनोइमा सम्पन्न १०५औँ एसियन एथलेटिक्स काउन्सिल (एएसी) बैठकका क्रममा एसियन एथलेटिक्सका अध्यक्ष जेनरल डाहलानले शाहलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्।

दक्षिण कोरियाको गुमीमा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिप कार्यक्रममा प्रदान हुन नसकेको उक्त सम्मान शाहले यसपटक हनोइमै ग्रहण गरेका हुन्।

सम्मान प्राप्त गरेपछि शाहले यसलाई नेपाल र नेपाल एथलेटिक्स संघका लागि ठूलो गर्वको क्षण भएको बताए। ‘सम्मान ढिलो भए पनि पाउनु नै ठूलो गौरव हो,’ उनले भने।

एथलेटिक्स संरचना विकास, अन्तर्राष्ट्रिय समन्वय तथा संघको संस्थागत उन्नयनमा शाहले दीर्घकालीन योगदान गर्दै आएका छन्। यही योगदानको कदरस्वरूप प्रदान गरिएको यस अवार्डले नेपाल एथलेटिक्स तथा कर्णाली प्रदेशको अन्तर्राष्ट्रिय पहिचान झनै मजबुत भएको विश्वास व्यक्त गरिएको छ।