काठमाडौं, मंसिर १२ :

नेपाली कांग्रेसभित्र उत्पन्न विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र शीर्ष नेताहरूसँग आज पनि छलफल गर्दैछन्। देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित आफू नजिकका नेताहरूलाई शुक्रबार छलफलमा बोलाएका छन्। बैठकमा नेता रमेश लेखकसहित केही पूर्वपदाधिकारीहरू पनि सहभागी हुने भएका छन्।

नेताहरूका अनुसार देउवाले विशेष महाधिवेशन रोक्दै नियमित महाधिवेशनको तयारीमा जाने विकल्पमा सहमति खोज्ने उद्देश्यले बैठक आव्हान गरेका हुन्। यसअघि बिहीबार साँझ पनि यी शीर्ष नेताहरूबीच छलफल भए पनि विशेष र नियमित महाधिवेशनबारे ठोस सहमति जुट्न सकेको थिएन।

देउवा पक्ष निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छ भने महामन्त्रीहरू र असन्तुष्ट पक्ष पुस मसान्तसम्म नियमित महाधिवेशन सम्भव नभएको भन्दै विशेष महाधिवेशन नै उपयुक्त विकल्प रहेको दाबी गर्छन्। यही मतभेदका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समेत निरन्तर सर्नु परेको छ।
कांग्रेस नेतृत्वबीचको मतभेद बढेसँगै आन्तरिक संवाद भने तीव्र रूपमा जारी छ।