काठमाडौं, मंसिर १२ :

कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्ने नेताहरूले औपचारिक पत्र नआएसम्म कुनै पनि छलफलमा सहभागी नहुने अडान लिएका छन्।

विशेष महाधिवेशनको मागसहित निवेदन आधिकारिक रूपमा पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेकाले छलफलका लागि पनि सोही अनुसार औपचारिक पत्र आवश्यक पर्ने उनीहरूको तर्क छ।  विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशनबारे नभई विशेष महाधिवेशनसम्बन्धी विषयमै केन्द्रित छलफल हुनुपर्ने स्पष्ट धारणा राखेका छन्। 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मौखिक जानकारीका आधारमा आज बिहान बोलाएको बैठकमा उनीहरू उपस्थित भएनन्।  यद्यपि संस्थापन पक्षकै २८ केन्द्रीय सदस्यहरूको अर्को समूहले भने निर्वाचनअगाडि नै नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्। विशेष महाधिवेशन पक्षधरले पार्टीले आफ्नो औपचारिक एजेन्डा छलफलका लागि अघि नबढाएको गुनासो गर्दै आएका छन्।